सर्लाही । बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापा ५० लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीले नगर प्रमुख थापासहित छ जनाविरुद्ध गएको वैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुङ्गा गिट्टी, बालुवा, माटो उत्खनन गरी हानी नोक्सानी गरेको’ शीर्षकमा मुद्दा दायर गरेको थियो । सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेको भन्दै मुद्दा दायर भएपछि फरार रहेका निलम्बित नगर प्रमुख थापा आफै सर्लाही जिल्ला अदालतमा हाजिर हुनुभएको थियो ।
अदालतमा उपस्थित भए लगत्तै न्यायाधीश जीवनकुमार भण्डारीको इजलासमा भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपियाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश भएको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । कापरका अनुसार यो मुद्दामा अन्य पाँच अभियुक्त फरार नै रहेका छन् ।
वन कार्यालयले दायर गरेको मुद्दामा धरौटी बुझाएर छुटे पनि निलम्बित नगर प्रमुख थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी दुई वटा मुद्दा यसअघि नै दायर गरेको छ । सो मुद्दामा विशेष अदालतले गएको वैशाख ७ गते अख्तियारलाई थप प्रमाण जुटाउन आदेश दिएको थियो ।