काठमाडौ । TDH Netherlands को सहयोग तथा WYESHR संस्थाको समन्वयमा, त्रिभुवन विश्वविद्यालयको जेंडर स्टडिज विभाग, Voices of Voiceless (VoV) र Queer Nepal को संयुक्त पहलमा तयार गरिएको “LGBTQI+ युवाहरूको अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन” सार्वजनिक गरिएको छ।
उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रा देवी ढकाल, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनाथ धमला, रेड एन्ट मुभमेन्टकी LGBTQI+ युवा प्रतिनिधि मौनी महर्जन, TDH Netherlands का भारत र नेपालका कन्ट्री डाइरेक्टर डा. थंगापेरुमल पोनपाण्डी र ग्लोबल कार्यक्रम व्यवस्थापक (बाल यौन शोषण कार्यक्रम) जोइ डि मेलोजस्ता विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा प्यानल डिस्कसन समेत गरिएको थियो, जसमा LGBTQI+ अधिकारकर्मी तथा डिजिटल सुरक्षाविद् सुनिल बाबु पन्त, मिडिया व्यक्तित्व र अभिनेत्री समैरा श्रेष्ठ, अनुसन्धानमा आबद्ध युवा सहभागी युवराज गुरुङ, र अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. सुवास रिजालले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूको उपस्थिति थियो, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय NGO/INGO का प्रतिनिधि, सरोकारवाला निकायका सदस्य तथा रेड एन्ट युथ चेन्जमेकरहरू सहभागी थिए।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीहरूले हालको प्रविधि र सामाजिक सञ्जालको प्रयोगसँग जोडिएका चुनौतीहरू, विशेष गरी LGBTQI+ बालबालिका तथा युवाहरूको अनलाइन सुरक्षामा देखिएका जोखिमबारे गम्भीर चासो व्यक्त गरे। प्रतिवेदनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै, सरोकारवालाहरूले यस क्षेत्रमा थप काम गर्न आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमसँगै सो प्रतिवेदनको आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गरिएको थियो।