
काठमाडौं । हलमा प्रदर्शन हुनु अगावै नेपाली चलचित्र ‘द्रौपदी’ ले ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऋषिराज आचार्य निर्देशित फिल्मलाई महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे अवार्ड प्रदान गरे ।
‘हामीले फिल्मलाई पर्यटन प्रवर्द्धन गर्ने हिसाबले छायांकन गरेका छौँ । सार्वजनिक प्रदर्शन अगावै पाएको अवार्डले हामीलाई हौसला थपेको छ’, निर्देशक आचार्यले भने । उनले अर्गानिक कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा खुसी लागेको बताए । कार्यक्रममा फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी अवार्ड समेत प्राप्त गरिन् । आगामी चैत ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘द्रौपदी’ डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मको कथा, पटकथा, सम्बाद र गीत समेत निर्देशन आचार्यको छ ।
अनिल महर्जनको सम्पादन, सौरभ शर्मा संगीत, मोहन कुमार झिल्लुका छायाङ्कन रहेको फिल्म आर बि मुभिजको ब्यानरमा बनेको हो । फिल्मका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्दैछ ।