हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्दै आएका छन्।
गाउँको तल पट्टी रहेको पुल काठको भएकाले जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीय बताउँछन्। रिप गाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट, जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानुपर्ने बाध्यता रहेको स्थानीय दिलीप कार्कीले बताए ।
आफूहरूले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरिया, ग्यास सिलिन्डर, दैनिक उपभोग्यवस्तु, तेल, चामल, मैदा, साबुन, लगायतपनि जीर्ण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो पोखे।
उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेका छन्। आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताए।