ल्याटिन अमेरिकी मुलुक उरुग्वेका पूर्वराष्ट्रपति होसे ‘पेपे’ मुहिकाको निधन भएको छ। ८९ वर्षको उमेरमा जीवन समाप्त गरेका मुहिका अन्ननलीको क्यान्सरबाट पीडित थिए ।
सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुहिका सादा जीवनशैलीका कारण विश्वभर चर्चित थिए। व्यक्तिगत रूपमा सम्पत्ति रहित, सरकारी निवासको सट्टा आफ्नै सानो फार्ममा बस्ने, पुरानो गाडी चढ्ने र तलबको ठूलो हिस्सा गरिबहरूका लागि दान गर्ने उनको जीवनले उनलाई “विश्वकै सबैभन्दा गरिब राष्ट्रपति” को विशेषण दिलाएको थियो।
राजनीतिक जीवनमा प्रवेश गर्नुअघि मुहिका वामपन्थी तुपामारो गुरिल्ला आन्दोलनका सदस्य थिए। उनी लामो समय कारागारमा समेत बसे, तर पछि सशस्त्र संघर्ष त्यागेर लोकतान्त्रिक राजनीतिमा सक्रिय भए।