विराटनगर । कोशी प्रदेश सभा बुधबारको बैठकको सुरूमै एउटा गीत गुन्जियो-‘भिजिट भिसामा हजुर, भिजिट भिसामा,भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा ।’
महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ का लागि निशान भट्टराई र अन्जु पन्तले गाएको यो गीत प्रदेशसभामा गाएरै सुनाउने सांसद थिए गोम्बु शेर्पा।
बुधबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद गोम्बू शेर्पाले ‘भिजिट भिसामा’ बोलेको गीत गाएर सुनाउदै गृहमन्त्रीको राजीनामा मागेका थिए । उनले लय हालेर गीत गाउँदा संसद् बैठकमा उपस्थित अरू सांसद भने मुसुमुसु हाँसेका थिए।
गीत गाइसकेपछि उनले भिजिट भिसाको नाममा लुट मच्चाउनेलाई संरक्षण दिने व्यक्ति गृहमन्त्री रहेको बताउँदै पदमा बस्न अयोग्य रहेको बताए । ‘विदेश जाने बेरोजगार युवाबाट रकम असुल्ने लुट धन्दाको मुख्य संरक्षक गृहमन्त्री देखिएको छ,’ उनले भने, ‘बद्नाम पात्रहरू गृहमन्त्रीको सचिवालयमा देखिएको छ। यसको संरक्षण गृहमन्त्रीबाटै भएको छ।’
उनीपछि बोलेका कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले भने केन्द्र सरकारसँग जोडिएको भिजिट भिसा प्रकरण प्रदेश सभामा उठाउँदा संघीय संसद्को अपमान हुने दाबी गर्दै प्रतिवाद गरेका थिए।