धुलिखेल नगरपालिकाको १७औं नगरसभाले एउटा अनौठो निर्णय गर्यो । नगरपालिकाको वडा नं. २ का अध्यक्षसमेत रहेका नगरसभा सदस्य अर्जुन न्यौपानेले शुन्य समयमा प्रदेशसभा खारेज गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पारित गर्न प्रस्ताव गरे । न्यौपानेले राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको मेयर अशोक कुमार ब्यान्जुले बताए ।
सभामा प्रस्ताव आउनु सभा सदस्यको अधिकारको विषय हो । तर, नगरपालिकाले प्रदेश नै खारेज गरिदिन आग्रह गर्ने जस्तो असंवैधानिक प्रस्ताव सर्वसम्मतिले पारित हुनु आफैमा अनौठो थियो ।
अहिले नेपालमा २०७२ सालमा दोस्रो संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा छ । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ । यही व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार अस्तित्वमा छन् । धुलिखेल नगरपालिकाको नगरसभाले भने प्रदेश सभा नै खारेज गर्न संघ सरकारलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको छ ।