ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना उल्लेख छ ।
वैदेशिक रोजगारी तथा अन्य कारणले वर्षौंदेखि बाँझो अवस्थामा रहेका खेतबारीहरूमा उत्पादनमूलक कार्य गर्ने उद्देश्यले गाउँपालिकाले फलफूल बगैँचा स्थापना गर्ने तयारी गरेको हो । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार बाँझो जमिनको सदुपयोग गर्दै स्थानीयहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले पालिकाले उक्त कार्यक्रम अघि सारेको हो ।
यसका साथै गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १९ वटा कृषिमुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राप्त विवरण अनुसार गाउँपालिकाले कुल एक करोड २९ लाख ५० हजार रुपियाँ बराबरको बजेट कृषिक्षेत्रमा छुट्याइएको छ । सबैभन्दा धेरै बजेट २५ लाख रुपियाँ ‘कृषि एम्बुलेन्स तथा मोटर साइकल खरिद कार्यक्रम’ मा विनियोजन गरिएको छ ।
त्यसपछि कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना गर्न २२ लाख, खाद्य बालीको बिउ वितरण कार्यक्रम (धान, मकै, गहुँ, कोदो) मा दुई लाख ५० हजार, र हिउँदे तथा वर्षे तरकारीको बिउ वितरणमा तीन लाख ५० हजार विनियोजन गरिएको छ । यसका साथै पालिकाका उत्कृष्ट कृषकलाई प्रथम गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रमअन्तर्गत सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।
यस योजनालाई कृषकमुखी र दिगो कृषि प्रणालीको सुरुवातको रूपमा लिइएको छ । गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने र कृषिमा नयाँ उत्साह भर्ने अपेक्षा गरेको छ ।