राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरूले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
निलम्बित नगर प्रमुख भीमराज यादव सहित उहाँका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर आइतबार ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परवीन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगर प्रमुख परवीन र निलम्बित नगर प्रमुख यादवबिच विवाद चुलिएको थियो ।
कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको स्थिति यहाँसम्म आइपुगेको हो ।
तालाबन्दी र धर्नाका कारण तीन दिनदेखि कामकाज ठप्प रहेको नगरपालिकामा कार्यवाहक नगर प्रमुख परवीन र नगरपालिकाका प्रवक्ता जयनाराण मंडल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित उहाँपक्षका जनप्रतिनिधि तथा समर्थकहरूले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति निकै तनावपूर्ण बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउँदा निलम्बित नगर प्रमुख यादव समर्थकहरूले नगरपालिका अगाडि टायर बालेर प्रदर्शनमा गरेका छन् भने दुवै पक्षबिच सामान्य तनाव हुँदा नगरपालिका सिसी क्यामरा र झ्यालका सिसाहरू फुटेको छ ।