सप्तरी । खडक नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई अगाडि बढाएको छ । नगरपालिकाको नीति अनुसार बालश्रममुक्त नगरपालिका घोषणाको तयारी स्वरूप वडामा अनुगमन सुरु गरिएको हो ।
बालबालिकालाई कानुन विपरीत हुने गरि कुनै काममा लगाउन नहुने कानुनी व्यवस्था र नगरपालिकाको नीति अनुसार वडा नम्बर ८ लाई यसै आर्थिक वर्षमा बालश्रममुक्त वडा घोषणा गर्न लागिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो ।
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै उहाँले वडा नम्बर ८ लाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि नगर उपप्रमुख तथा नगर बालअधिकार समिति संयोजक रिताकुमारी चौधरी नेतृत्वको टोलीले वडाभरिका इँटाभट्टी, पोल्ट्री फर्म, ग्रिल उद्योग, पसल लगायतको स्थानमा अनुगमन गर्नुभएको बताउनुभयो ।
अनुगमनको क्रममा त्यस वडामा बालश्रम गर्नेको सङ्ख्या शुन्य पाइएकोले एकसाता भित्रै बालश्रममुक्त वडा घोषणाको तयारी थालिएको नगर प्रमुख चौधरीको भनाइ छ ।