लम्जुङ। क्लाइमेक्स आर्ट प्रोडक्सनको प्रस्तुति रहेको गुरुङ संस्कृति, संस्कार र भाषामा आधारित नयाँ चलचित्र तेनो कुर्सि (ढोग भेट) को छायाङ्कन अहिले लम्जुङ जिल्लाको रमणीय गाउँ ओखारीमा तीव्र गतिमा भइरहेको छ।
गुरुङ समुदायको मौलिक जीवनशैली, परम्परा र संस्कारलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण भइरहेको चलचित्रमा चर्चित कलाकारहरूको जमघट रहेको छ। चलचित्रमा पर्वत गुरुङ, खुशी गुरुङ, बबिता गुरुङ, राजेश गुरुङ, भीम गुरुङ, टिकराम गुरुङ, ओम गुरुङ, एलिसा गुरुङ र पूजा गुरुङले अभिनय गरिरहेका छन्।
चलचित्रका निर्माता चन्द्र गुरुङ र कुमार गुरुङ हुन् भने लेखन तथा निर्देशनको जिम्मेवारी सुवास गुरुङ (गणेश गुरुङ) ले सम्हालेका छन्। निर्देशक गुरुङ विगत दुई दशकदेखि नेपाली सांस्कृतिक चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय छन्। उनले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छी) मा कलाकार र सह-निर्देशकको रूपमा आफ्नो यात्रा सुरु गरेका थिए। त्यसयता मिह्थेबा, ङै नासा, भुलिगय पाप लाग्ला, ङै जिन्दगी, ङै क्या, आस्यो, भेडिगोठाले, कुटुम्बेरी लगायत दर्जनौं गुरुङ भाषाका चलचित्र निर्माण र निर्देशन गरिसकेका छन्।

निर्माण टोलीका अनुसार तेनो कुर्सि (ढोग भेट) चलचित्रले गुरुङ समुदायको मौलिक संस्कृति र परम्परा संरक्षणको संदेश दिनेछ र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गराउन प्रेरित गर्नेछ। चलचित्रको छायाङ्कन कार्य तिव्र गतिमा अघि बढिरहेको छ र चाँडै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
गुरुङ भाषा र संस्कृति जगेर्नामा आफू निरन्तर समर्पित रहेको बताउने निर्देशक गुरुङले विभिन्न गुरुङ भाषाका गीतमा संगीत र स्वर समेत दिएका छन्। हङकङका स्थायी बासिन्दा समेत रहेका सुवास गुरुङ (गणेश) गुरुङ चलचित्र कर्मीहरूको साझा संस्था गुरुङफिल्म एसोसिएसन नेपाल का संस्थापक उपाध्यक्ष समेत हुन्।