काठमाडौं । जातीय पहिचान र प्रेमकथालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली सिनेमा ‘लडाइँ पहिचानको’ आगामी मंसिर ५ गते (२१ नोभेम्बर २०२५) बाट देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
फिल्म युनिटले हालै सार्वजनिक गरेको पोस्टरमा दुई फरक जोडीलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । एकतर्फ प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङको जोडी छ भने अर्कोतर्फ करिश्मा मानन्धर र धिरेन शाक्यको जोडी फिचर गरिएको छ। यी दुवै जोडी पारम्परिक जातीय पोशाकमा प्रस्तुत हुँदै, फिल्मले प्रेम मात्र होइन सांस्कृतिक विविधता, जातीय गौरव र सामाजिक कथाहरूलाई सशक्त रूपमा उठाएको संकेत दिएको छ ।
फिल्ममा प्रशान्त तामाङ, जेनी तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो लगायतका अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको अभिनय छ।
कोशी प्रदेशका स्थानीय कलाकारहरूको सहभागिता यस फिल्मको अर्को विशेषता हो, जसले फिल्मलाई अझ प्रामाणिक र जिवन्त बनाउने विश्वास निर्माण टोलीले लिएको छ।
भीम लामा फिल्मस् को ब्यानरमा बनेको सिनेमाका निर्मातामा भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन्। चलचित्रमा एक्सन निर्देशन देव महर्जन, छायांकन मदन घिमिरे कायस्थ, सम्पादन रमेश विश्वकर्मा र नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बु को रहेको छ।
फिल्म युनिटले विविध सांस्कृतिक कथाहरूलाई मुख्यधाराको सिनेमा मार्फत उजागर गर्ने र समावेशी समाज निर्माणको सन्देश दिन खोजेको बताएको छ।