चितवन । भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा पुँजीगत खर्च ३४ प्रतिशत र चालु खर्च ५८ प्रतिशत मात्रै भएको छ ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले दिएको जानकारी अनुसार वैशाख मसान्तसम्म चालु आवको संशोधित पुँजीगत खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत मात्रै पुँजीगत र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत चालु खर्च भएको हो ।
गत वर्ष यही अवधिमा पुँजीगत खर्च २९ प्रतिशत र चालु खर्च ५७ प्रतिशत भएको थियो । गत आर्थिक बर्ष महानगरपालिकाको पुँजीगत खर्च ५६ प्रतिशत र चालु खर्च ८६ प्रतिशत भएको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुँजीगत खर्च चालु आवमा ७० प्रतिशत पुग्ने अपेक्षा गरिएको बताइन् । ‘फिल्डमा काम भइरहेको छ, भुक्तानी नभएको कारणले पुँजीगत खर्च नबढेको जस्तो देखिएको हो’ नगर प्रमुख दाहालले भनिन्, ‘सबै भुक्तानी दिँदासम्म पुँजीगत खर्च बढेर जान्छ ।’
उनले विगतमा भन्दा पुँजीगत खर्च बढाउने प्रयास गरिएको बताइन् । पहिलो चौमासिकमा लागत इष्टिमेट, दोस्रो चौमासिकमा टेण्डर र सम्झौता र कामको तयारी गर्नुपर्नेमा सधैं अनेक कारणले ढिला हुने र गर्ने चलन रहेको नगरप्रमुख दाहालले बताइन् ।
बर्खा लागेपछि काम सक्ने र हतार गर्ने आम प्रवृतिमा सुधार अझै नभएको उनको धारणा छ । ‘हामीले यसलाई सच्चाउन त प्रयास गरेका छौं, तर अझै पूर्णरुपमा सकिएको छैन’ नगर प्रमुख दाहालले भनिन्, ‘यो कानुनी समस्या भन्दा पनि प्रवृत्तिगत र व्यावहारिक समस्या हो । यसलाई तोड्ने कोसिस जारी छ ।’
भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ राजश्व उठाइसकेको छ ।
चालु आवको बाँकी दुई महिनामा ८० करोड मध्ये ५० करोड राजश्व उठाउने लक्ष्यका साथ काम भैरहेको उपनिर्देशक अर्यालले जानकारी दिए ।