जुम्ला । शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्याएको छ । जिल्लाका आठै वटा स्थानीय तहमा परेको असिनापानीले किसानको बालीनाली नष्ट गरिदिएको हो ।असिना पानीले राँसाका ११५ र मालापानीका ७०, खोप्रीका ४५ र ढिपुगाउँका ९० घरपरिवारले भित्र्याउन तयार गरेको जौँ, गहुँ र उवा बाली नष्ट गरेकाले किसान चिन्तित बनेका छन् ।
तिला गाउँपालिका–९ मा आधा फिटसम्म असिना जमेको स्थानीयले जानकारी दिएका छन् ।असिनासँगैको पानीले स्याउ, मार्सी धानको बिउलगायतका बालीनालीमा क्षति पुर्याएको छ ।एक घण्टासम्म निरन्तर असिना परेपछि लगाएको बाली सखाप पारेको तथा जनजीवन प्रभावित भएको स्थानीय उमेश रावतले बताउनुभयो ।उहाँका अनुसार असिनाले भित्र्याउन तयारी अवस्थामा रहेको जौ खेतमै झारेको छ ।यस्तै बारीमा लगाएको गहुँ, सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको हो।
हिमा गाउँपालिका–१ का किसान वीरबहादुर शाहीले झन्डै चार इन्च मोटो असिना परेको बताउनुभयो ।उहाँले पाटनमा भेडा जोगाउन पनि समस्या परेको जनाउनुभयो ।त्यस क्षेत्रको असिनाले स्याउका फूल त रहेनन् नै, पातसमेत सखाप पारेको शाहीको भनाइ छ ।रावतका अनुसार यस वर्षको हिउँदमा पनि यति भीषण गरी नपरेको असिना यो पटक परेको हो ।पहिलो पटक यति धेरै मात्रामा असिना परेको स्थानीयको भनाइ रहेको छ ।
असिनापानीले बालीमा गरेको क्षतिका विषयमा किसानले पालिकामा खबर गरिरहेका छन् ।स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ ।यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ । स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको आशा गरेका छन्।