विराटनगर । स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
संविधान र कानुनले परिभाषित गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिकारका विषयलाई लिएर आयोजना गरिएको यस्तै प्रकारका राष्ट्रिय सम्मेलन र प्रदेशस्तरमा महिला जनप्रतिनिधिहरुको सम्मेलनमा सहभागी हुँदा महिला जनप्रतिनिधिहरुको समस्या र चुनौतीहरुको बारेमा बुझ्ने मौका पाएको बताइन् ।
री सम्मेलनमा कार्यक्षेत्रमा संगालेको जीवन्त अनुभव, झेल्नुपरेको समस्या र समाधानका उपायहरुको खोजी हुने विश्वास व्यक्त गर्दै उनले संविधानले प्रमुख वा उप्रमुखमध्ये कम्तिमा एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको भएपनि राजनीतिक गठबन्धनको नाममा महिला जनप्रतिनिधिहरुको अनुपात केही संकुचित भएकोले आगामी दिनमा त्यसतर्फ दलहरुले विचार गर्नुपर्ने बताइन् ।
सम्मेलनको शुभकामना व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उपप्रमुख तथा उपाध्यक्षहरु कानुनले दिएको जननिर्वाचित पद भएकोले त्यसको कार्यान्वयनलाई दृढतापूर्वक लाग्नुपर्ने बताइन् । उनले उपप्रमुखहरु इलेक्टेड हुने भएपनि सेलेक्टेडको जस्तै सीमाभित्र बाँध्न खोज्दा समस्या आउने गरेको बताइन् ।
कार्यक्रममा देशभरबाट सहभागी २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी छन् ।