बाजुरा । बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि ५९ महिनासम्मका ५८४ जना बालबालिकाले सबै नियमित खोप प्राप्त गरिसकेका छन् । यसरी कुल ९६४ जना बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका हुन् ।
बालबालिकाले उमेर समूह अनुसार झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूविरुद्धको खोप प्राप्त गर्नु अत्यावश्यक भएकाले यसको पहुँच सबैसम्म पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताइएको छ ।
नगर प्रमुख अमर खड्काले बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा अभियान सफल भएको उल्लेख गर्नुभयो ।