काठमाडौं । बुढानीलकण्ठ नगर युवा परिषद्ले यही प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २९ गतेदेखि ३१ गतेसम्म बुढालीलकण्ठ नगरपालिकाको नेत्रज्योति उच्च माविमा आयोजना गर्न लागिएको हुँदा देशभरका २० वर्षभन्दा कम उमेरका युवा सहभागी हुन नगर युवा परिषद्का संयोजक दीपक तामाङले आग्रह गरे ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा प्रथम हुनेले नगद ४० हजार, द्वितीयले २५ हजार, तृतीयले १० हजार, चौथोले ७ हजार ५ सय र पाँचौंले नगद ५ हजार प्राप्त गर्नेछन्।
सँगसँगै विधागत रूपमा अण्डर-१८, अण्डर-१६, अण्डर-१४, अण्डर-१२, अण्डर-१० र अण्डर-८ का उत्कृष्ट एक/एक छात्र र छात्रा खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालन हुने यस प्रतियोगिताको प्राविधिक पक्ष सहित महासङ्घको नियमित राष्ट्रिय प्रतियोगिताहरूको बारेमा महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी गराएका छन्।
सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य शान्ता पुडासैनीको सभपतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा चेस खेलप्रति रुचिका साथै युवामा बौद्धिक क्षमता विकासका लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यपालिका सदस्य नेहा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष ताराबहादुर रानाभाट, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षहरू सुरेन्द्र लामा, ११ का वडा अध्यक्ष राजु अधिकारी र १२ का वडा अध्यक्ष शम्भु भट्टराईको उपस्थिति रहेको थियो।