बाँके । तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ २५ गते आइतबारदेखि सात दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले दिनुभएको जानकारी अनुसार नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै बिद्यालय जेठ २५ गते आइतबारदेखि ३१ गते शनिबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।
अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
गर्मी बढ्दै गएकोले जिल्लाका अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहि दिन बिद्यालय बन्द गर्नुपर्ने अभिभावकहरुले माग गरेका थिए ।