प्युठान । झिमरुक गाउँपालिकाले पालिका भित्र रहेका खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरेको छ । पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परीक्षण गरिएको हो ।
झिमरुक गाउँपालिकाका १, २, ६, ७ र ८ वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २० वटा खानेपानी योजना, ५० वटा खानेपानी आयोजना र तीन वटा स्वास्थ्य संस्था गरी ७३ वटा खानेपानी आयोजनाहरुको खानेपानी गुणस्तरको नमुना परीक्षण गरिएको गाउँपालिकाका खानेपानी, सरसफाई तथा स्वच्छता शाखा प्रमुख शितल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना परीक्षणमा पानीको भौतिक, रासायनिक र जैविक परीक्षण गरिएको हो ।
खानेपानीको नमुनाहरुको गुणस्तर परीक्षणको साथसाथै खानेपानीको महत्त्व, सरसफाई र स्वच्छता तथा आवश्यकता र दूषित खानेपानीका कारणले मानव स्वाथ्यमा पार्ने असर र न्यूनीकरणको विषयमा समेत जानकारी दिने गरिएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।