कैलाली । कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् । धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ ।
उनीहरूले विद्यालयमा कार्यरत शिक्षकहरूको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले उनीहरूसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मुनराम चौधरीले बताए ।
दुई शिक्षक सरुवा भइसकेको र फेरि तिन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरेका छन् । विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ ।